एमालेलाई २०७५ जेठ २ कै अवस्थाबाट सक्रिय बनाउन ओली सहमत, दुई नेताले कार्यदल बनाउने

Spread the love

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि कार्यदल निर्माण गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिइएको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार बेलुका बसेको बैठकमा एमालेका पार्टी संरचनाहरु २०७५ जेठ २ कै अवस्थाबाट ब्युँताउने र त्यसको प्राविधिक विषय पुरा गर्नका लागि कार्यदल बनाउने निर्णय भएको नेताहरुले बताएका छन्।

‘भोली दुवै नेताहरु बसेर कार्यदलका सदस्यहरुको नाम टुंगो लगाउनु हुनेछ,’ घनश्याम भुसालले भने।

बैठकमा पार्टीको विवाद समाधानका लागि २०७५ जेठ २ गतेको अवस्थाबाट पार्टी संरचनालाई सक्रिय बनाउन ओली पक्ष सहमत भएपछि बैठक सहमतिउन्मूख भएको बैठकमा सहभागी अर्का एक नेताले बताए।

गत फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताउने निर्णय गरेदेखि नै नेपाल पक्षले यहि मागलाई प्रमुखताका साथ उठाउँदै आएको थियो।

‘आजको छलफलमा पार्टीको वर्तमान अवस्थाबारे गम्भीरताका साथ छलफल भयो। पार्टीलाई एकतावद्ध बनाएर लैजान नेकपा (एमाले) लाई २०७५ जेठ २ मा फर्केर समस्याको समाधान गर्ने सहमति भयो,’ बैठकको निर्णयमा भनिएको छ, ‘समस्याको समाधान खोज्न दुवै नेताको एउटा कार्यदल बनाउने निर्णय भयो।’

सो बैठकमा अध्यक्ष ओली र उनी पक्षका ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा र विष्णु रिमाल उपस्थित छन् भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा साढे तीन घण्टा चलेको बैठकबाट सो निष्कर्ष निकालिएको हो।

हिजो बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीलाई सहमतिका आधारमा अघि बढाउने सैद्धान्तिक समझदारी भएपछि त्यसबारे थप छलफल र सहमति गर्न नेताहरु बैठकमा जुटेका हुन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *