जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद फुटनजिक पुगेको छ। प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा सुरु भएको विवाद चर्किँदै जाँदा जसपाका दुई खेमा अलग हुने स्थितमा पुगेका छन्।
अध्यक्ष महन्थ ठाकुर पक्षले भक्तपुरको एक रिसोर्टमा शुक्रबार राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको दाबी गरेपछि जसपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको हो।
ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेपछि शनिबार अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका थिए।
तर, ठाकुरले विज्ञप्ति जारी गर्दै उक्त बैठकलाई अस्वीकार गरेका थिए। जसपाको कुनै बैठक नबोलाइएको र त्यसबारे कुनै जानकारी नभएको जनाएका थिए।
यता शनिबार नै उपेन्द्र पक्षले संसदीय दलको नेता चयन गर्न संसदीय दलको कुनै बैठक नबसेको विज्ञप्तिमार्फत बताएको थियो।
‘पार्टीको अन्तरिम विधान-२०७७ को धारा २८ को उपधारा (३) बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनपर्ने अनिवार्य व्यवस्थाबमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदनसमेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकाले उक्त समाचार भ्रमपूर्ण रहेको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको थियो।
शनिबारसम्म आइपुग्दा दुई पक्षबीच संवाद टुटेर एकअर्कालाई अस्वीकार गर्दै सार्वजनिक वक्तव्यबाजी चलेको थियो।
यसअघि नै लुम्बिनी प्रदेश सरकारमा पार्टी निर्णयविपरीत ठाकुर पक्षका ४ सांसद मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रिमण्डलमा सहभागी भएपछि जसपाको विवाद छताछुल्ल भएको थियो।
शनिबार नै बसेको उपेन्द्र-बाबुराम भट्टराई पक्षको बैठकले महन्थ ठाकुरसँग एकताका लागि अन्तिम प्रयास गर्ने निर्णय गर्यो।
त्यसका लागि अध्यक्ष ठाकुरसँग छलफल गर्ने र एकताको अन्तिम प्रयास गर्ने उपेन्द्र-बाबुराम पक्षको योजना छ। त्यस अनुसार आइतबार ठाकुर र यादवबीच पार्टी कार्यालय बालकुमारीमा लामो छलफल भएको छ।
पार्टीमा एकधार बनाउन अन्तिम प्रयास गर्न लागिएको उपेन्द्र पक्षका नेता इश्तियाक राई बताउँछन्।