लमजुङ केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान भूकम्प गएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकामासमेत महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर ४२ मिनेट जाँदा ५ दशमल ८ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पले सामान्य क्षतिसमेत गरेका विवरणहरु प्राप्त भएका छन्। भूकम्पले लमजुङको मरस्याङ्दी गाउँपालिका- ३ खुदी तरापुका बासुदेव खत्रीको घर भत्किएको छ।
त्यसैगरी लमजुङकै बेसिशहर नगरपालिकाको चनौटेमा पनि एक घर भत्किएको छ। घर भत्किँदा एक जना घाइते भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य मधुमाया अधिकारीले जानकारी दिइन्।
भूकम्पको केन्द्रविन्दु आसपास क्षेत्रमा सुख्खा पहिरोसमेत खसेको स्थानीयले बताएका छन्। भूकम्पपछि स-साना परकम्प जाने क्रम जारी रहेको स्थानीयबासीको भनाई छ।
‘यो भूकम्प २०७२ सालको महाभूकम्पकै परकम्प हो,’ भूकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीले भने, ‘यो मध्यमस्तरको भूकम्प हो। सामान्यतया यत्तिको भूकम्पले ठूलो क्षति गर्दैन।’
उनले ०७२ को महाभूकम्पपछि अहिलेसम्म ४ रेक्टरस्केलमाथिका ५ सय ५३ वटा परकम्प गइसकेको जानकारी दिए। यस्ता परकम्प केही वर्षसम्म अझै गइरहने उनको भनाई छ।