काठमाडौँ ।
तपाईँहरु मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस् । अर्को उपयुक्त विकल्प केही भएमा हिम्मतका साथ ल्याउनुस्, राजनीतिक तनावलाई शिथिल गरेर महामारीविरुद्ध एकताबद्ध भएर जाऔँ ।’’ देशमा कोभिङ–१९ को महामारी नियन्त्रण, नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने जटिल समय भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा राष्ट्रिय सरकार बनाउन आफू तयार रहेको स्पष्ट गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष ओलीले आज बिहान आफूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभाापति शेरबहादुुर देउवालाई टेलिफोन गरेर उक्त आग्रह गरेको जनाउनुभयो । उपप्रधानमन्त्री एवं पार्टीका महासचिव ईश्वर पोखरल, नेताहरु सुवास नेम्वाङ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकार दिन नसक्ने, आफूलाई समर्थन पनि नगर्ने तर अहिलेको सरकारलाई ढाल्नैपर्ने भए विपक्षीलाई एकजुट भएर प्रस्तुत हुने बाटो आफूले खोलिदिएको स्पष्ट गर्नुभयो ।प्रधानमन्त्री र ठूलो दलको नेताका हैसियतले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि सहमति र विकल्पका लागि आज बिहान पनि टेलिफोन गरेको स्पष्ट गर्नुभयो ।राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिई आह्वान गर्नुभएको भोलिपल्ट प्रधानमन्त्री ओलीले त्यसबारे उठेका चासोलाई सम्बोधन गर्नुभएको हो ।उहाँले नयाँ प्रक्रियामा जानुपूर्व प्रधानमन्त्रीले राजीनामा गर्नैपर्छ भन्ने संविधानमा कतै उल्लेख नभएको जनाउँदै उहाँले अरुलाई विकल्प दिएर हात उठाउनु नै पर्याप्त भएको स्पष्ट गर्नुभयो । ‘‘म सहमतिका लागि कुरा गर्न चाहन्छु, उहाँहरु उत्तर–दक्षिण गरिरहनुभएको छ । साथीहरु मलाई लखेटिरहनुहुन्छ, अरु विकल्पमा जाऔँ, निर्वाचनतर्फ नधकेलौँ भन्छु तर विकल्प नदिने हो भने निर्वाचनमा देश गएमा आकाश खस्दैन । यो संवैधानिक प्रक्रिया हो । स्वतन्त्र निष्पक्ष निर्वाचनबाट जनताको ताजा मतादेश आउँछ । लोकतन्त्रमा निर्वाचनबाट भागेर हामी कहीँ पुग्न सक्दैनौँ । नियमितरुपमा पनि एक वर्षपछि निर्वाचन गर्नैपर्छ ।