युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उहाँको जन्मभएको थियो ।यसवर्ष पनि कोरोना कहरकाबीच उहाँको सम्झनामा गरिँदैछ ।सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालले स्वर छ ।युगकवि सिद्धिचरण प्रतिष्ठानले तयार गरेको उक्त भिडियोलाई दिनेश डिसीले निर्देशन गर्नुभएको छ । युगकविको जन्मस्थलसम्मको खोजमूलक यात्रालाई प्रस्तुत गरिएको भिडियोमा समीक्षा पोखरेल, महेश खड्का एवं दिनेश डिसीको अभिनय छ ।कोरोना कहरका कारण युगकविको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उहाँका छोरा रविचरण श्रेष्ठले जानकारी दिनुभयो । युगकविका परिवारले काठमाडौँको न्युरोडस्थित धर्मपथमा रहेको सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएका छन् ।विगतका वर्षहरुमा विविध साहित्यिक कार्यक्रम गरेर जन्मभूमिमा सिद्धिचरणको जन्मजयन्ती बनाउने गरिए पनि यस वर्ष कुनै औपचारिक सभा समारोह राखिएका छैनन् । युगकवि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिनुहुन्छ । उहाँ नेपाल भाषामा कविरत्नका रुपमा पनि चिनिहुनुन्थ्यो । उहाँले आफ्नो जीवनको साढे छ दशक साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरणलगायत विधामा सफलतापूर्वक कलम चलाउनुभएको थियो ।उहाँका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायत मर्मस्पर्शी रचनाहरु सर्वाधिक चर्चामा छन् । उहाँका कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् ।
युगकविको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।