बंगालको खाडीमा धेरै शक्तिशाली चक्रवात बन्दै गरेको र त्यसको असर नेपालमा पनि पर्ने देखिएकाले आम नागरिकलाई सजग रहन मौसमविद्ले आग्रह गरेका छन्।
जुन चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गरेका छन्। भारतमा त यसको भयंकर असर पर्ने भएकाले क्षति कम गर्न व्यापक तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएका छन्।
नेपालमा पनि त्यसको केही असर पर्ने सम्भावना औंल्याउँदै मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरेको हो।
‘अहिलेसम्मको अनुमानअनुसार हामीले विशेष मौसम बुलेटिन जारी गरेका छौं,’ महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘तर यसको अपडेट गरिरहनुपर्ने हुन्छ। हामी गरिरहन्छौं।’
उनका अनुसार बुधबारदेखि वर्षा सुरु हुने सम्भावना छ। ‘कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ,’ उनले भने, ‘त्यसैले यस विषयमा सरोकारवाला सबै चनाखो हुनुपर्ने हुन्छ।’
विशेष बुलेटिनमार्फत आफूहरूले भोलि मंगलबारदेखि नै हिमाली क्षेत्रमा पर्वतारोहण बन्द गर्न आग्रह गरेको मौसमविद् पौडेलले बताए।
महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै नेपालमा पर्ने चक्रवातको सम्भावित असरबारे विस्तृत जानकारी दिएको छ।