काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गरेरै देखाउने बताएका छन् । अर्थमन्त्रालयमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो बजेट सुनाउनका लागि मात्रै ल्याइएको होइन, हामी कार्यान्वयन गरेरै देखाउने छौं,’ उनले भने, ‘बजेटबारे प्रतिक्रया सुन्दा बजेट राम्रो भएको भन्ने आएको छ । तर, धेरैले कार्यान्वयनमा चुनौती रहेको बताउनु भएको छ । तर हामी चुनौतीका बीच पनि यो बजेट कार्यान्वयन गरेरै देखाउँछौं ।
उनले कोभिड–१९ को महामारीबाट विश्व आक्रान्त रहेकोले कोभिडले सिर्जना गरेको चुनौती सामना गर्न ल्याइएका कार्यक्रम प्रभावकारी रुपमा गर्ने बताएका छन् ।
‘खोपको प्रबन्ध गरेर आम नागरिकको जीवन रक्षा गर्ने जीम्मेवारी काँधमा आएको छ,’ उनले भने, ‘विगतका दिनमा र आउने दिनमा पनि हाम्रो यो भूमिका प्रभावकारी हुने छ । दक्षिण एसियामा खोप प्रयोग गर्ने दोस्रो मुलुक नेपाल भएको थियो । अब खोप लगाउने देशमा पनि नेपाल पहिलो नै हुने छ ।’
उनले राहत सहुलियत र आर्थिक पुनरुत्थान गर्ने विषयमा पनि हामी प्रभावकारी ढंगले लाग्ने बताए । आर्थिक जगत्का चुनौतीहरुको सामना गर्दै नयाँ गति दिलाउने अभियानमा लाग्ने उनले बताए । त्यस्तै, निर्वाचनका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको पनि उनले बताए ।