काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि गत बुधबार (जेठ १९ गते) नै जारी आदेश आजबाट लागू गरिएको हो।
कोरोना महामारीको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ गते सुरु निषेधाज्ञाको अवधि चौथोपटक थपेर जेठ ३१ सम्म पुर्याइएको हो।
आज जेठ २१ देखि मर्निङवाक र इभिनिङ वाक गर्न खुला गरिएको छ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र इन्धन, खाना पकाउने ग्यासजस्ता सामान बोकेका गाडी राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ। यस्तै निर्माण सामग्री ढुवानीका सवारीसाधन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
तरकारी, फलफूल, खाद्यान्न, खानेपानी, ग्यास, किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारीसाधन मर्मतका वर्कसप तोकिएको समयमा खोल्न पाइनेछ। तर तरकारी पसल बजारमा बाहेक फुटकर सञ्चालन गर्न पाइँदैन।
शैक्षिक संस्था बन्द नै रहने भए पनि वैदेशिक अध्ययनमा जाने विद्यार्थीको हकमा कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ।
कूटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न पाउने भएका छन्। अत्यावश्यक उद्योग तथा निर्माण कार्यका लागि कार्यस्थलमै श्रमिक राखेर सञ्चालन गर्न पाउने भएका छन्।
स्वास्थ्य सामग्री, कृषि मल, बीउ तथा खाद्यान्न सामग्री ढुवानी गर्न पाउने भएका छन्।
सूचना विभागको प्रेसपासका आधारमा पत्रकार र प्रेस पास नहुनेले जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास अनिवार्य गरिएको छ।