अबको प्रधानमन्‍त्री देउवा: बाबुराम भट्टराई

Spread the love

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने अनुमान गरेको बताएका छन् ।

गृहजिल्ला गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका भट्टराईले देउवा प्रधानमन्त्री हुनुपर्ने तर्कसमेत गरेका छन् ।

‘म एउटा हाइपोथेटिकल कुरा गर्छु । अराजक र अवैध गतिविधि गर्ने अमेरिकाका राष्ट्रपतिमाथि त एकहप्ता मात्र बाँकी छँदा महाअभियोग लागिसक्यो । ओलीमाथि र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ । दण्डितै गर्नुपर्छ । यसो गरेपछि ओली यसै रिङआउट हुन्छन्’, उनले भने, ‘केपी ओलीजस्तो भष्मासुरलाई हुर्काउन, मलजल गर्न प्रचण्ड–नेपालहरुको पनि त हात छ । अब केपीलाई हटाएर आफू सरकारको नेतृत्व गर्नु भन्नु सरासर पदलोलुपता हुन्छ । त्यसो भएपछि सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको आउँछ । कांग्रेसमा पनि प्रतिष्पर्धा गर्ने रामचन्द्रजीहरु संसदीय सदस्य हुनुहुन्न । त्यसैले मलाई लाग्छ अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ ।’

आफू र आफ्नो पार्टी चौथो दल भएकाले पालो नआउने र आए पनि आफू पदलोलुप नभएकाले दाबी नगर्ने उनले स्पष्ट पारे ।

नेकपाको ओली र प्रचण्ड–नेपाल समूह बीच निर्णयक सम्बन्ध बिच्छेद नहुँदा पनि समस्या लम्बिरहेको उनले बताए । ‘प्रचण्ड–नेपाल समूहले ओलीजीलाई अहिले पनि हाम्रै नेकपाको प्रधानमन्त्री हुन् भन्ने रुपमा मान्यता दिइरहेका छन्’, उनले भने, ‘पार्टीबाट निष्काशन नगरेसम्म त उनीहरुकै प्रधानमन्त्री हुन्छन् ओलीजी । त्यसैले उनीहरुको पनि अडान स्पष्ट देखिएको छैन । नेपाली कांग्रेस पनि स्पष्ट ढंगले आउन सकिरहेको छैन ।’ ठूला दलहरुको ढुलमुले प्रवृत्तिले समस्याले चाँडो निकास नपाएको उनले बताए ।

ओलीले चुनाव गराउँदै नगराउने दाबी गर्दै उनले चुनावको सपना नदेख्न आग्रह गरे । ‘ओलीजीले सबै निकाय हस्ताक्षेप गरेर बसेका छन् । त्यसैले उनले चुनाव गराउलान र नयाँ ताजा जनमतको आधारमा हस्तान्तरण गर्लान् भन्ने सपना पाल्नु बेकार कुरा हो’, उनले भने, ‘इजलास हेरफेर हुने भइरहेको छ । न्याधीशहरु विवादमा पर्ने भएकाले पछि हट्दैछन् । त्यसैले अदालतबाट धेरै आशा गर्नुपर्ला जस्तो मलाईचाहिँ लाग्दैन ।’ प्रचण्ड–माधव समूह र ओली समूहबीच छिनोफानो हुनुपर्ने उनले बताए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *